Loading...

Loading

Loading
(You are in the browser Reader mode)

अध्याय - ११
ख्रीष्‍टको स्‍वर्गारोहण

जब येशूको माथि आफ्‍ना पिताकहाँ जाने बेला भइरहेथ्यो, तब सारा स्‍वर्ग त्यस विजयको खुशीयाली मनाउन उहाँको प्रतीक्षामा थियो । महिमाका राजालाई स्‍वागत गर्न र उहाँलाई साथ दिएर स्‍वर्गसम्मै पुऱ्याउन भनी स्‍वर्गदूतहरू पनि आए । उहाँले आफ्‍ना चेलाहरूलाई आशीर्वाद दिइसक्‍नुभएपछि उहाँ उनीहरूदेखि अलग भएर माथि-माथि उठाइनुभयो । उहाँ उँभोतिर उठ्‍दै जानुहुँदा उहाँका पछि-पछि ती बँधुवाहरूका भीड़ पनि - जोहरू उहाँको पुनरूत्थान हुँदा बौरी उठेका थिए - सँगसँगै उठाइए । स्‍वर्गीय सेनाहरूको एक ठूलो भीड़ उहाँलाई स्‍वागत जनाउन हाजिर भयो । स्‍वर्गमा ता झन् असङ्ख्यौं स्‍वर्गदूतहरूले उहाँको स्‍वर्गारोहणको प्रतीक्षा गरिरहेका थिए । जब उहाँहरू माथि पवित्र शहरमा पुग्‍नुभयो, तब उहाँलाई साथमा लिएर जाने स्‍वर्गदूतहरूले यसो भन्दै कराए, “हे फाटकहरू हो ! आफ्‍ना शिर उचाल । हे अनन्त ढोकाहरू हो ! तिमीहरू उघ्र र महिमाका राजा प्रवेश गर्नुहुनेछ ।” तब पवित्र शहरमा उहाँको प्रतीक्षा गरिरहेका स्‍वर्गदूतहरू बड़ो हर्षसाथ यसो भन्दै कराउनथाले, “यी महिमाका राजा को हुनुहुन्छ ?” अनि उहाँका साथमा भएका दूतहरूले उत्तर दिए, “उहाँ शक्तिशाली अनि सर्वसामर्थी प्रभु हुनुहुन्छ ! उहाँ अति वीर योद्धा प्रभु हुनुहुन्छ !! हे फाटकहरू हो, आफ्‍ना शिर उचाल ! हे अनन्त ढोकाहरू हो, उघ्र ! र महिमाका राजा प्रवेश गर्नुहुनेछ ।” फेरि स्‍वर्गीय सैन्यदलले उच्‍च स्‍वरमा भने, “महिमाका राजाचाहिँ को हुनुहुन्छ ?” अनि उहाँका साथमा भएका दूतहरूले भने, “सेनाहरूका परमप्रभु ! उहाँ नै महिमाका राजा हुनुहुन्छ !” तब ती स्‍वर्गदूतहरूको ताँती उहाँलाई साथमा लिएर पवित्र शहरमा पस्यो । अनि शहरभित्र पुगेपछि समस्त स्‍वर्गीय सेनाले चारैतिरबाट उहाँलाई यति भव्य रूपमा स्‍वागत, भक्ति एवम् अभ्यर्चना गरे, यहाँसम्म कि उनीहरूले आफ्‍ना चमकदार मुकुटैसित उहाँका पाउमा घोप्‍टीकन उहाँलाई दण्डवत् गरे, अनि आफ्‍ना स्‍वर्णिम वीणाहरूबाट मधुर ध्वनि र राग निकालेर समस्त स्‍वर्गै गुञ्‍जायमान पार्दै उहाँका निम्ति गाए, जो मारिएका थुमा हुनुहुन्थ्यो । उहाँ मरेर पनि फेरि बौरी उठी ऐश्‍‍वर्य र महिमामा हुनुहुन्छ । 1BP 77.1

अर्को कुरा - उहाँ माथि स्‍वर्गतिर उचालिएर जाँदै गर्नुहुँदा मैले उहाँका चेलाहरूलाई उदास चेहरा लिएर आँखाले भियाइञ्‍जेल उहाँपट्टि नै हेरिरहेका देखें । त्यति नै बेला दुइजना स्‍वेत वस्‍‍त्रधारी स्‍वर्गदूतहरूले उनीहरूकै छेउमा उभीकन यसो भने, “हे गालीलका मानिसहरू हो ! तिमीहरू किन स्‍वर्गतिर (छक्‍कै परेर) हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” त्यसरी परमेश्‍‍वरका पुत्रको स्‍वर्गारोहण भइरहेको दृश्‍‍य उहाँका चेलाहरूले मात्रै नदेखेर उहाँकी तथाकथित आमाले पनि देखिन्, र त्यस रात उहाँले त्यति छोटो समयावधिमा गर्नु भएका आश्‍चर्यकर्महरू र अजीब घटनाहरू बारेमा उनीहरूले चर्चा गरेर बिताए । 1BP 78.1

त्यसपछि पनि शैतानले उसका दूतहरूसँग सल्‍लाह गर्दै परमेश्‍‍वरको शासनको घोर विरोध गर्दै भन्यो, “जबसम्म पृथ्वीमा मेरो राज्य चल्‍ला, तबसम्म येशूका अनुयायीहरूलाई अर्थात् येशू अनि तिनको बौरिउठाइ र स्‍वर्गारोहणमा विस्‍वास गर्नेहरूमाथि हामीले दशगुणा बेसी शक्ति प्रयोग गरेर तिनीहरूलाई यथासम्भव जालमा फँसाईकन पर्लक्‍कै पल्टाइदिन सक्‍नुपर्छ, यद्यपि येशूमाथि चाहिँ हाम्रो केही सीप चलेन । हेर, येशूले तिनका चेलाहरूलाई तिमीहरूलाई धपाउने, हपार्ने र तिमीहरूले दुःख दिएकाहरूलाई निको पार्ने शक्ति र अधिकार पनि दिएका छन् है। होशियार गर नि !” तब शैतानका दूतहरू येशूका अनुयायीहरूलाई नष्‍टभ्रष्‍ट पार्न भनी गर्जने सिंहजस्तै भएर निस्के । 1BP 78.2